काठमाडौँ, चैत १७ गते । प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ । आज एभिन्यूज टेलिभजनको केन्द्रीय कार्यलयमा आयोजित ‘शोकसभा’मा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उहाँका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।

शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनकोे पनि मृत्यु भएको थियो । प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रदर्शनकारीले नौवटा सरकारी सवारीसाधन, छवटा सरकारी वा निजी नखुलेका सवारीसाधनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौवटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए ।