सियोल, चैत १७ गते । चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन् । यो सहमति कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू सुरु हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा त्यस्तो स्तरको पहिलो बैठकमा भएको हो ।
दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ ।
बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उहाँका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित हुनुहुन्थ्यो ।
“तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि आफ्नो वार्ता तीव्र पार्न आह्वान गरे र अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भए”, एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताउनुभयो । “आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले चिह्नित छ”, उहाँले भन्नुभयो ।
“हाम्रो वरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन हुँदै गइरहेको छ, अनि अनिश्चितता बढ्दै गइरहेको छ”, जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भन्नुभयो ।
चिनियाँ अधिकारी वाङ लिपिङले भन्नुभयो, “एकपक्षीयता र संरक्षणवाद फैलिरहेको छ र तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्छ ।”
उहाँका अनुसार यी तीन देशले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारिक व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन् ।
ट्रम्पले अप्रिल २ देखि अनुचित मानिएका व्यवहारहरूको उपचार गर्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरूको प्रतिज्ञा गर्नुभएको छ ।
तर उहाँले गत हप्ता पत्रकारहरूलाई ‘लचिलोपन’ हुने र गत हप्ताको अन्त्यमा बजारले केही राहतका साथ प्रतिक्रिया दिएको देखिएको पनि बताउनुभयो ।