काठमाडौँ, चैत १६ गते । हिजो शुक्रबार कोटेश्वरको तीनकुनेमा राजावादीहरुको प्रदर्शन हिंसात्मक बन्दा अकालमा दुई जानाले ज्इान गुमाउन पुगेका छन् । शान्तिपूर्ण प्रदर्शन भनिएता पनि राजावादीहरुले तीनकुने क्षेत्रमा गरेको हिंसात्मक घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै ५३ जना प्रहरी घाइते भएका हुन् ।
यसै घटनालाई लिएरजिल्ला प्रहरी परिसर काठमाडौँले मानवीय र भौतिक क्षतिघटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड गरेका थिए ।
प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।