आज कोटेश्वरमा भएको प्रदर्शनको तस्वीर
काठमाडौँ, चैत १५ गते । राजावादीहरुद्वारा काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनले हिंसात्मक रुप लिंदा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । तोडफोड र आगजनीमा उत्रिएका राजावादीहरुको हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्नेक्रममा प्रहरीले गोलि चलाउँदा कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको हो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार २९ वर्षीय महर्जन आज शुक्रबार राजावादीहरुको प्रदर्शनमा सहभागी थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शन हिंसात्मक गतिविधिमा उत्रिएपछि त्यहाँको अवस्था अराजक र उत्तेजित बन्न पुगेको थियो ।
कोटेश्वरमा प्रदर्शनकारीहरुले स्थानीय केही घरहरुमा तोडफोड र आगजनी गर्नुको साथै समाजवादी मोर्चाको एक घटक नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको मुख्यालयमा समेत प्रदर्शनकारीहरुको समूहले व्यापक तोडफोड गरेको थियो ।
राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक बनेपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोटेश्वर क्षेत्रका केही स्थानमा दिउँसो ४:३० बजेदेखि साँझ १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।