काठमाडौँ, चैत १५ गते । राजतन्त्र स्थापना गर्ने भन्दै राजधानीमा राजावादी समूहले आज शुक्रबार गरेको प्रदर्शन हिंसात्मक बनेको छ । तीनकुने क्षेत्रबाट प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र उनीहरुबीच घम्साघम्सी भएपछि त्यहाँको अवस्था हिंसात्मक बन्न पुगेको हो ।
राजावादी समूहले निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरु थप हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीले हवाइ फायर समेत गर्नुपरेको थियो । प्रदर्शनले हिंसात्मक रुपलिएपछि प्रहरीले गोलिसमेत चलाएको र प्रदर्शनकारी तर्फ एक जना घाइते भएका छन् । घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
सोही झडपमा परी सात जना सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झपडका क्रममा घाइते भएकामध्ये चार जना सुरक्षाकर्मीको पनि कान्तिपुर अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
राजावादी समूहका प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएको हाम्रा संवाददाताले जनाएका छन् । प्रदर्शनकारीहरुले त्यहाँस्थित सडक छेउका घरहरुमा ढुङ्गा हानेर तोडफोड गरेका छन् भने एक घरमा आगलागी समेत भएको छ ।
नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो । घटना हिंसात्मक बनेसँगै प्रदर्शनकारी तितरबितर बनेका छन् भने तिनकुनेमै शीर्ष नेताहरुले सम्बोधन गर्न तय भएको कार्यक्रम पनि बिथोलिएको छ । अहिले पनि तिनकुने क्षेत्रमा तनाव जारी नै छ ।