काठमाडौँ, चैत १३ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताउनुभयो । 

कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गर्नुभयो । 

उहाँले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भनाइ राख्नुभयो । एमालेले अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उहाँले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको छ । 

 सो घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । सोही र्‍यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो । भेलामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभयो ।