काठमाडौँ, चैत १३ गते । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा विरोध गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद र राजनीतिक दम्भको संसदमै प्रतिवादन गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।


प्रमुख सचेतक परियारले भन्नुभयो, ‘सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम ग¥यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौं । सडकमा पनि यसको आवाज उठेको छ ।


बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महिन्द्रराय यादव सहभागी हुनुहुन्थ्यो ।