काठमाडौँ, चैत १३ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज बुधबार बिहान ११ बजे बस्न तय भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा ’बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ ।


यसैगरी, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ’नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।


साथै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

pp