काठमाडौँ, चैत १२ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । कुलमान हटाएकामा प्रतिपक्षी दलले कडा विरोधको तयारी गरेका छन् भने सत्तारुढ दलहरूले नै पनि सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् ।

मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा सोमबार साँझ हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेलगत्तै काङ्ग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत विरोध जनाउनुभएको थियो भने आज बिहान काङ्ग्रेसका अर्का नेता डा.शेखर कोइरालाले पनि कुलमान हटाएकामा आपत्ति जनाउनुभएको छ ।

डा.कोइरालाले यसलाई सरकारको कुशासनको अर्काे कडी भएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले, ‘नेपाली काङ्ग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’