काठमाडौँ, चैत ८ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन अघि आफु प्रधानमन्त्री नबन्ने जिकिर गर्नुभएको छ । तराई–मधेस जागरण अभियानको क्रममा आज वीरगञ्ज पुगेर अध्यक्ष प्रचण्डले पत्रकारहरु समक्ष यस्तो जिकिर गर्नुभएको हो ।

आफु सरकारमा हुँदा देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान चलाएको दावी गर्दै माओवादी सरकारमा हुँदा र सरकार बाहिर रहँदा फरक कुरा नगरेको बताउनुभयो ।

आफुले भ्रष्टचारविरुद्धको अभियान चाल्दा सरकारबाट बाहिरिनुभएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेको मिलिभगतमा बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टचारीलाई संरक्षण गरेको दावी गर्नुभयो ।

ओली सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो —‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’