काठमाडौँ, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एसियाली किसान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउनसक्ने अवस्था हुन नसकेको बताउनुुभयो ।
उहाँले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भन्नुभयो ।
सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी छन् । दुईदिने सम्मेलनमा दक्षिण एसियाली किसानका समस्या र तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।