धनगढी, चैत ७ गते । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पु¥याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताउनुभयो । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताउनुभयो ।


“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उहाँले भन्नुभयो ।  


नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले बहालवाला तथा अवकाश प्राप्त सैनिकका परिवारजनलाई आयआर्जनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम पृतनापति प्रकाश देउजाले सकलदर्जामा एकताको भावना अभिवृद्धि गराउन सम्मेलनले सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कल्याणकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका विभिन्न सुविधा प्रयोग गरी बढीभन्दा बढी लाभ लिन सकलदर्जालाई अनुरोध गर्नुभयो ।

समारोहमा प्रधानसेनापति सिग्देलले चार जना वा सोभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत सकलदर्जाका अभिभावक बाजुराका बलवान खड्का र डडेलधुराका प्रजापति अवस्थीलाई सम्मान, एवं अवकाश प्राप्त सुवेदार केशवदत्त पाण्डेयलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुभयो । उहाँले ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्वील चियर एवं वैशाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गर्नुभयो ।

आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा सम्मेलन सम्पन्न भएका छन् ।

सम्मेलनमा दिइएको जानकारीअनुसार सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्नेको सङ्ख्या १० लाख नाघेको छ ।