सुनसरी, चैत ७ गते । दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा रामधुनी नगरपालिका–१ मा प्रतिष्ठान निर्माण हुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले आज यहाँ ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा निर्माणका लागि भवन शिलान्यास गर्नुभयो । 

यहाँ प्रतिष्ठान निर्माण गर्न सहरी विकास मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट बोलपत्र प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का लिएको छ । 

माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उक्त केन्द्रीय प्रतिष्ठानको शाखाका रूपमा रामधुनीमा भवन निर्माण थालिएको हो । मुलुकका सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यसहित कोशीको शाखाका रूपमा सुनसरी जिल्ला छनोट गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमारी चौधरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसको केन्द्रीय कार्यालय काठमाडाँैस्थित बूढानीलकण्ठमा छ । त्यसबाहेक धनुषा, नुवाकोट, दाङ, तनहुँ, सुर्खेत र कैलालीमा पनि शाखा छन् । कोशी प्रदेशको शाखाका रूपमा सुनसरीमा भवन निर्माण हुन्दैछ ।” प्रदेश शाखाको अध्यक्ष तत्कालीन संविधानसभाका सदस्य एवं पार्टी प्रदेश कमिटी सदस्य सन्तोष थारू हुनुहुन्छ । 

तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष रहनुभएका दिवङ्गत नेता बोगटी नुवाकोटका स्थायी बासिन्दा हुनुहुन्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै माओवादीभित्र र बाहिरसमेत उहाँको लोकप्रियता थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित उहाँ ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियो । 

विसं २०७१ भदौ ३० गते ६१ वर्षको उमेरमा बोगटीको हृदयघातका कारण निधन भएको थियो । प्रतिष्ठानले सामाजिक, परोपकारी, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदलगायत समाजसेवाका विविध क्षेत्रमा काम गर्दै आएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । भवन निर्माणपछि सुनसरीमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।