प्रतिनिधिसभाको आजको बैठक ।
काठमाडौँ, चैत ७ गते । प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा बोल्दै सांसदहरुले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति प्रकट गर्दै पीडित परिवारलाई न्याय दिन माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसदहरूले पीडित परिवारलाई न्याय दिन जोडदार माग गर्नुभएको हो ।
यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको थियो । स्थानीय मरिकको घर भत्काउन पालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवसमेत संलग्न रहेको स्थानीयको भनाइ छ । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
सोही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरु जीवन परियार, मनिष झा, अब्दुल खान, अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाउँदै सो घटनाको भत्र्सना गर्नुभएको छ ।