काठमाडौँ चैत ७ गते । सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । काठमाडौँको कोटेश्वरस्थित पार्टी मुख्यालयमा बसेको उक्त पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्नसमेत आग्रह गरेको छ । ओली नेतृत्वको सरकार जनस्तरबाटै अस्वीकृत र असफल भइसकेको र सरकारको कार्यसम्पादन मूल्याङ्कन पनि राम्रो नभएको आजपाको ठम्याइ छ ।

पदाधिकारीको बैठक पछि पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा ‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मूल्याङ्कनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको सरकार आफैं जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ’— भनि उल्लेख गरिएको छ ।

वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो ।

बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।