काठमाडौँ, चैत ७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताउनुभएको छ । यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतगका आङ्गिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहँदा अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको भन्दै अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका पक्षमा देखिएको नतिजा ‘निकै उत्साहप्रद’ रहेको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख (स्टाटस) पोस्ट गर्दै भन्नुभएको छ, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ, कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले सामाजिक सञ्जालबाटै स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
