भक्तपुर, चैत ७ गते । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित यहाँका चार नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।
चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताउनुभयो । उहाँले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, एक पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । “करोडौँ लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ”, नगरप्रमुख खत्रीले भन्नुभयो ।
चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् ।
होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ–आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ ।
मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताउनुभयो । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उहाँले बताउनुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गर्नुभयो । उहाँले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष–२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताउनुभयो ।