फाइल तस्वीर
काठमाडौँ, चैत ६ गते । एकसाता अघिदेखि भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास गरिरहनुभएको छ । परराष्ट्रमन्त्री आरजुले दुई देशबिचको सम्बन्ध सुधार गर्ने उद्देश्यले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने प्रयास गरिरहनुभएको हो ।
पछिल्लो समय नेपालमा गणतन्त्रविरोधी र हिन्दुराष्ट्रसहितको राजतन्त्रात्मक व्यवस्था पुनःस्थापनाका लागि राजावादी दल र पूर्व पञ्चसहितको एउटा तप्का आन्दोलनको तयारीमा रहेको छ । यसमा भारतीय प्रधानमन्त्री मोदी र हिन्दूवादीहरुले पनि नेपाललाई राजतन्त्रसहितको हिन्दू राष्ट्र चाहेको राजनीतिक वृत्तमा एकखालको विश्लेषण गरिएको छ । यसै सेरोफेरोमा नेपालका परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने प्रयास गरेता पनि खासै महत्व नदिएको भन्ने टिप्पणीहरु भइरहेका छन् ।
रायसिना डायलगमा भाग लिन भारत जानुभएकी मन्त्री आरजुले दुई देशबिचको सम्बन्ध सुधार गर्ने उद्देश्यले भारतीय प्रधानमन्त्री मोदीसँग भेटका लागि पहल गरिरहेको बताइएता पनि नेपालमा राजावादीहरु सलबलाउन थालेकोले गणतन्त्रको पक्षमा भारतको समर्थन लिनका लागि भेट्ने प्रयास गरेको बताइएको छ ।
यसअघि परराष्ट्रमन्त्री आरजुले भारतीय समकक्षी एस.जयशंकरसँग भेट गर्दै आगामी जेठमा नेपालमा हुने सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाउन चाहेको विषय राखेता पनि मन्त्री आरजुको प्रयास अहिलेसम्म सफल हुन सकेको देखिंदैन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपश्चात् नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन देखिंदै आएको छ । प्रधानमन्त्री ओलीले आफ्नो भारतसँग चिसिएको सम्बन्धलाई सुधार गर्ने प्रयास स्वरुप परराष्ट्रमन्त्री आरजुमार्फत् सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाएर नेपाल ल्याउन खोजिरहनुभएको छ ।
नेपालको राजनीतिक परिस्थिति जब जटिल बन्दै जान्छ तब भारतीय संस्थापन पक्ष नेपाललाई थप कमजोर बनाइ आफ्नो अनुकुलको सम्झौता र सहमति गर्ने गरेको इतिहासले पुष्टि गरेको छ । यसपटक पनि भारतले आफ्नो स्वार्थ पूर्तिका लागि नेपालमा राजावादीहरुलाई उचालेको विश्लेषण राजनीतिक वृत्तमा व्यापक छ । त्यसो त एमालेको भरखसै सम्पन्न भएको सचिवालयको बैठकले भारतले राजावादीहरुलाई उचालेको निष्कर्ष निकाले थियो ।
नेपालमा जब राजनीतिक अस्थिरता पैदा हुन्छ यसका पछाडि बाह्य शक्तिको स्वार्थ केन्द्रीत भएको इतिहास साक्षी छ । नेपालको अस्थिर राजनीतिक, सत्ताका लागि राज्यलाई नै बन्धकी राख्न तयार हुने पार्टीका नेताहरु र फितलो परराष्ट्र नीतिले भारतले नेपालमाथि शोषण गर्दै आएको छ ।
यतिबेला सुन्नमा के पनि आएको छ भने गणतन्त्रलाई साथ दिने हो भने नेपालको जलस्रोत, परराष्ट्र र सुरक्षा भारतलाई दिनु पर्छ भन्ने छ । यो भनेको भारतले नेपाललाई भुटानी मोडालिटीमा आफ्नो नियन्त्रणमा राख्न चाहेको छ । यी विषयले नेपालको अस्थिर राजनीतिका बेला प्रवेश पाइरहन्छ ।
नेपालमा राजतन्त्र पुनःस्थापित हुँदैमा, राजा आउँदैमा, हिन्दु अधिराज्य बन्दैमा नेपाललाई गर्ने भारतीय रवैयामा कुनै परिर्वतन हुनेवाला छैन। नेपाली राजनीतिमा अस्थिरता पैदा गर्नुमा भारतीय स्वार्थ बढी केन्द्रीत रहँदै आएको छ ।
यतिबेला बाह्य शक्तिकेन्द्रहरु नेपालमा अस्थिरता पैदा गरेर धमिलो पानीमा माछा मार्ने प्रयास गरिरको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । गणतन्त्र दलका नेताहरु स्वार्थका कारण कमजोर बन्दै भएको परिवेशलाई भारतीय संस्थापनले निकै गम्भीरताका साथ हेरिरहेको विश्लेषण हुन थालेको छ ।
परराष्ट्रमन्त्री आरजुलाई भारतीय प्रधानमन्त्रीले भेट्न नचाहनुको भित्री कुरा भारत यतिबेला नेपालको खलबलिंदो राजनीतिक घटनाक्रमलाई पर्ख र हेरको अवस्थामा बुझाइ छ ।