काठमाडौँ, चैत ६ गते । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।
सोही व्यवस्थाअनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको हो ।
अत्याधुनिक प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तिसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ ।
अत्याधुनिक प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ । यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान समेत गरिएको आयोजनाका उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।