काठमाडौँ, चैत ६ गते। नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार आज बुधबार बिहान ३ बजेर ५३ मिनेटमा चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, तब उनीहरूको अनुहारमा मुस्कान देखिएको थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ ।
अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुले र उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।
नासाको कमर्सियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले सफलता दिलाएका चालक दलका सदस्यहरूको प्रशंसा गरे । सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा परीक्षण वाहन स्टारलाइनरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ उडेका थिए।
त्यहाँ आठ दिन बिताएपछि फर्कने तयारीमा रहेका उनीहरू प्राविधिक गडबडीका कारण ९ महिनासम्म अन्तरिक्षमै अलपत्र परेका थिए।