काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्ने तय भएको हो ।

आज बस्ने राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, आजको बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफलका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेकोे छ । साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

rr