काठमाडौँ, चैत ६ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बुधबार बिहान ११ बजे बस्ने तय भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ । यसैगरी, आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ ।
गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
