काठमाडौँ, चैत ५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रमुखबीच छलफल भएको छ । आज यहाँ भएको छलफलमा मन्त्री भट्टराईले छात्रवृत्ति वितरणलाई पारदर्शी र सरकारी नियम कार्यान्वयन गर्न उहाँहरूलाई आग्रह गर्नुभयो ।

उहाँले आगामी शैक्षिक सत्रलाई व्यवस्थित र समावेशी बनाउन सबैलाई निष्पक्ष र समान अवसर प्रदान गर्न, भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन आग्रह गर्नुभयो । मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्दै वर्ग विभाजन हुन नदिने कुरामा ख्याल गर्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

  सरकारको नीति र योजनाअनुसार सबै शैक्षिक संस्था सञ्चालन हुनुपर्ने, शैक्षिक क्यालेण्डर कडाइका साथ पालना गर्नुपर्ने र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता हुनुपर्ने विषयमा पनि छलफल भएको थियो । 

छलफलमा काठमाडौँ उपत्यकामा सञ्चालित सेन्टमेरिज, सेन्ट जेभिएर्स, रातो बङ्गला, बूढानीलकण्ठ स्कुल, एसओएस बालग्राम, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलका प्रमुखको सहभागिता रहेको थियो ।

त्यस क्रममा आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया, शुल्क व्यवस्थापन, छात्रवृत्ति वितरण, विद्यालयको सामाजिक उत्तरदायित्व र कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षालगायत विषयमा समेत छलफल भएको थियो ।