फाइल तस्वीरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ।
काठमाडौँ, चैत ५ गते । केही दिनदेखि भारतमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
सो भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारसँग आग्रह गरेको स्मरण गराउँदै उनको अझैसम्म रिहाइ हुन नसकेकाले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा परराष्ट्रमन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि सहयोगको याचना गर्दै आउनुभएको छ ।
सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउने भनी आश्वस्त गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।