फाइल तस्वीर
काठमाडौँ, चैत ५ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थगित भएको जागरण अभियान पर्सी बिहीबारदेखि सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान पर्सी चैत ७ गते बिहीबारदेखि पुनःसुरु हुने भएको हो ।
माओवादी केन्द्रले चलाएको तराई मधेस केन्द्रीत अभियान मधेश प्रदेशमा पुगेको बेला सङ्घीय राजधानी काठमाडौँमा राजावादी दलहरू राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको संयुक्त रुपमा व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि सो कार्यक्रम रौतहटमा पुगेर केही दिनको लागि स्थगित भएको थियो ।
उक्त अभियानमा सो पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माथिल्लो तहका नेताहरु सम्लग्न हुनुहुन्थ्यो । फागुन २५ गतेको राजावादीले गणतन्त्रको विरोध गर्दै राजसंस्था स्थापना गर्ने भन्दै पोखराबाट आउँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभूवन विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म लगेका थिए । माओवादी केन्द्रले सोही दिन जागरण अभियान केही दिनको लागि स्थगन गरी पूर्वप्रधानमन्त्री एवम् माकेका अध्यक्ष ‘प्रचण्ड’ काठमाडौँ फर्किनुभएको थियो ।
माओवादी केन्द्रको स्थगित भएको जागरण अभियानको कार्यक्रम बारा र पर्सामा गर्न बाँकी रहेको छ । स्थगित भएको अभियानलाई पुनः सञ्चालन गर्न अध्यक्ष प्रचण्डसहितका नेताहरू भोलि ६ गते बुधबार त्यसतर्फ जानुहुने भएको छ ।
माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज मातृका यादवका अनुसार ७ र ८ गते बारा र पर्साको कार्यक्रम सकेर अभियानकै दौरानमा ९ गते नेताहरु चितवन जानुहुने कार्यक्रम रहेको छ ।

यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
राजावादीहरुको गणतन्त्रविरोध गतिविधिका कारण माओवादी केन्द्रको पूर्ण निर्धारित अभियानका कार्यक्रम प्रभावित हुन पुगेको छ । चितवनसम्मको अभियान सकेर नेताहरु केही दिनका लागि राजधानी फर्किने र त्यसपछि पुनः अभियानमै फर्किने मधेस प्रदेशका इञ्चार्ज यादवले बताउनुभयो ।
राजावादीहरुको गतिविधिका विरुद्ध माओवादी केन्द्रसहितको चारदलीय समाजवादी मोर्चाले चैत १५ गते राजधानीमा विरोधसभाको आयोजना गर्ने कार्यक्रम तय भइसकेको छ ।
यता राजावादीहरुले पनि सोही दिन गणतन्त्रकोविरुद्ध आन्दोलन गर्दै पूर्वराजालाई राजा घोषणागरी राजतन्त्र पुनस्र्थापित गर्ने भनेर पूर्वराष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा एक समिति नै गठन गरेका छन् ।