काठमाडौँ, चैत ५ गते । सङ्घीय संसद्अन्तर्गत रहेका विभिन्न छ वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको अर्थ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति तथा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने भएको हो ।
जसअन्तर्गत अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि आज मङ्गलबार बिहान ११ बजे नै बस्ने बस्दैछ । सो बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । साथै उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्ने भएको छ । बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ । सो बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः३० बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । सो बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१ माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।