कैलाली, चैत ४ गते । यहाँको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँका बुवा पनि आरनकै काम गर्नुहुन्थ्यो । बुवाले धनगढीमा आरन सुरु गर्नुभएको थियो । सानैमा बुबासँगै उहाँले आरनको सीप सिक्नुभयो । उहाँले अहिले आरन व्यवसायमा रु १० लाख लगानी गर्नुभएको छ । रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आउनुभएको थियो । उहाँको श्रीमती, पाँच छोराछोरी र कामदार गरी जम्मा आठ जनाको परिवार छ । ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहनुभएको छ ।

“छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु”, उहाँले भन्नुभयो । पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उहाँले बताउनुभयो । हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ । 

हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उहाँले बताउनुभयो । 

ठाकुरले पहिले मासिक रु ७० हजारको कारोबार गरी मासिक रु ४० हजार बचत गर्नुहुन्थ्यो । तर अहिले मासिक रु ४० हजार मात्र कारोबार हुने गरेको छ । पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उहाँले बताउनुभयो । “धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जना जति आरन व्यवसायी थिए । अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उहाँले गुनासो गर्नुभयो ।