काठमाडौँ, चैत ४ गते । बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले आज एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन् । एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक हिसाब गरिएको हो ।
अङ्क गणितीय हिसाबलाई सर्वाधिक छिटो सम्पन्न गर्ने पद्धति मानिएको एबाकसबाट विद्यार्थीले हिसाब गर्ने मात्र नभइ समग्र शैक्षिक क्षमता र व्यक्तित्वमै सकारात्मक प्रभाव पार्ने बताइन्छ ।
बाल विकास एनसिमास प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले एबाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने बताउनुभयो । “एबाकस जस्ता आधुनिक शिक्षण विधि बालबालिकाको समग्र विकासका लागि अनिवार्य छन्”, उहाँले भन्नुभयो । आयोजक बाल विकास एनसीमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले विद्यार्थीलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्न विभिन्न अभ्यास गराइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, नेपालमै पहिलो पटक यति ठूलो सङ्ख्यामा विद्यार्थीको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको हो । आजको अबाकस प्रतियोगिताले ‘एसियन वल्र्ड रेकर्ड’ राख्न सफल भएको छ । एसियन वल्र्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो ।