काठमाडौँ, चैत ४ गते । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका हुन् ।
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्दै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले विधेयकले आगामी दिनमा आँखा उपचारको क्षेत्रमा राम्रो उपाचार हुने बताउनुभयो ।
यसैगरी सांसद मायाप्रसाद शर्माले यो विधेयक समयसान्दर्भिक रहेको बताउनुभयो । “यो सरोकारवालासँग छलफल गरेर आएको छ । आर्थिक रुपमा पनि आर्थिकभार व्यहोर्नुपर्ने छैन । यो विधेयक उचित छ,” उहाँले भन्नुभयो ।
सांसद सुरेशकुमार आलेमगरले आँखाको स्वास्थ्यको विषयमा विश्वविद्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताउनुभयो ।
सांसद पदमबहादुर परियारले गहिरोसँग छलफल गरेर आएको विधेयकले आँखाको स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । “आँखा उपचारको सेवा विस्तार गर्दै सरल, सहज र पहुँचयोग्य उपचार सेवा पाउने भएकाले विधेयक राम्रो छ । तर केही समय विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न छाड्नुपर्छ,” उहाँले भन्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले विधेयकमा देशभरका नेत्रज्योति सङ्घलाई पनि समेट्न्पर्ने तथा यसबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।