काठमाडौँ, चैत ४ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका राष्ट्रियसभा सदस्य डा. बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै डा. भुसालले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गर्नुभएको हो ।

सांसद भुसालले संविधानले निर्देश गरेको समाजवादी गणतन्त्र भएकाले त्यही दिशामा अगाडि बढ्ने योजनासहित जान सक्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “समाजवादको दिशामा संविधानको लक्ष्यअनुसार जानुपर्छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पर्याप्त मात्रामा काम गर्न सकिएको छैन । प्रगति छ तर पर्याप्त छैन ।” सांसद भुसालले कृषि, उद्योग, पर्यटन र ऊर्जा तथा पूर्वाधारका क्षेत्रमा ठूला–ठूला मेगा प्रोजेक्ट सुरु गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विकास र रोजगारीका निम्ति अभियान सुरु गरौँ । संविधानमा कहाँ–कहाँ समस्या छ पुनरवलोकन गरौँ ।”

विशेष समयमा सांसद मोहम्मद खालिदले सरकारको समावेशी सिद्धान्तको व्यवस्थामा थारु र मुस्लिम समुदाय अटाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य सत्ता सञ्चालनमा थारु र मुस्लिमको उपस्थिति न्यून रहेको तथ्याङ्कले देखाएको छ ।”

नेकपा एमालेकी सांसद डा अञ्जानन शाक्यले नेपालको अर्थतन्त्र बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालले अन्तर्राष्ट्रिय बजारमा परम्परागत वस्तुभन्दा उत्पादनको साङ्लो निर्माण गर्ने निकासी प्रवद्र्धन गर्नसक्ने वस्तुको उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्दछ ।” उहाँले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै यी कुरालाई अध्यादेशले पनि सम्बोधन गर्न खोज्नु राम्रो भएको बताउनुभयो ।

सांसद शाक्यले भन्नुभयो, “कर्मचारीले तलबको साथै लाभांस प्राप्त गर्दा करको व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ । राज्यले तलबमा कर लिने व्यवस्था छ । तर शेयरबाट प्राप्त हुने आयमा कर कसरी लगाउने भन्ने विषयमा ऐन मौन छ । यस विषयमा तत्काल संशोधन गरी स्पष्टता दिन आवश्यक छ ।”