राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला ।
काठमाडौँ चैत ४ गते । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउने हो भने आफ्ना एजेण्डा सहित खुला रुपमा आउन चुनौती दिनुभएको छ । राष्ट्रियसभाको आज सोमबार बसेको बैठकमा बोल्दै काङ्ग्रेस सांसद सिटौलाले पूर्वराजा शाहलाई यस्तो चुनौती दिनुभएको हो ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको बढ्दो सक्रियता प्रति लक्षित गर्दै नेपालको राजनीतिलाई राजावादीहरुले केही तरङ्गित बनाउने प्रयास गरेको दावीसमेत गर्नुभयो ।
बैठकमा बोल्दै सांसद सिटौलाले भन्नुभयो — ’नेपालको राजनीतिमा केहीदिनदेखि नयाँ तरङ्ग उठ्न खोजेको छ । कुनै घटनालाई लिएर मैले सन्दर्भ जोड्न खोजेको छैन। हामी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ । यो व्यवस्था त्यसै प्राप्त भएको होइन।’
लामो सङ्घर्षको समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनु दुखद् भएको उल्लेख गर्दै काङ्ग्रेस नेता सिटौलाले ’०४७ सालको संविधानले नारायणहीटीलाई संसद्को मातहत राखेको भए यसो हुन्थेन कि ? भनि टिप्पणी गर्नुभयो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैँले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रवन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गर्दै ‘म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ। निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो । अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय होइन’— भन्नभयो ।