आन्दोलनरत कर्मचारीहरु मुख्यमन्त्रीको कार्यालय अगाडि नारावाजी गर्दै
धनगढी चैत ४ गते । स्थानीय तहका कर्मचारीले प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्न माग गरेका छन् । उनीहरुले आज सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालय अगाडि नारा लगाउँदै यस्तो माग गरेका हुन् ।

कर्मचारीहरूले स्थानीय तह कर्मचारी सङ्घर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने उनीहरुको माग छ ।

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ । फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका स्थानीय तहका कर्मचारीहरु आज सोमबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् ।