फाइल तस्वीरः नेकपा एकीकृत समाजवादीको बैठक ।
काठमाडौँ, चैत ४ गते ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बस्ने तय भएको हो ।

उक्त पार्टीले आगामी चैत १५ गते गर्ने समाजवादी मोर्चाको विरोधसभाका लागि आफ्नो पार्टीको तर्फबाट लिने जिम्मेवारी र तयारीका बारेमा स्थायी कमिटीको बैठक केन्द्रीत हुने बताएको छ ।

यसैगरी सो पार्टीको भोलि चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक आह्वान गरेको छ भने चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाएको छ ।

त्यसैगरी चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने सो पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनुभयो ।

फागुन २७ गते बसेको चार दलीय समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै त्यसको विरोधमा सङ्घीय राजधानी काठमाडौँमा विशाल विरोधसभा गर्ने निर्णय गरेको थियो ।

फागुन २५ गते राजधानीमा राजावादी दल राजेन्द्र लिङदेनको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत राजावादी समर्थकहरुले प्रदर्शन गरेका थिए ।