काठमाडौँ, चैत ४ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुने हुनुभएको छ । आईजीपी कुँवरसहितका उहाँहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लाग्नुभएको हो ।

प्रहरीका महानिरीक्षक कुँवरसँगै एआईजीहरु टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई र प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत एकसाथ आजैदेखि सेवा निवृत्त हुन लाग्नुभएको हो ।

प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लाग्नुभएका महानिरीक्षक कुँवरसहितका यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो ।


महानिरीक्षक कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपीमा तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा हुनुहुन्छ । आईजीपीको नियुक्तिबारे निर्णय गर्न आज सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रहरीको ३१ औँ आईजीपीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुनुहुन्छ ।


वि.सं.२०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गर्नुभएका उहाँहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा हुनुभएको थियो भने सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा मात्रै थापा भन्दा १८ दिन ढिला गरी एआईजीमा बढुवा हुनुभएको थियो ।


त्यसैले वरीयता सूची अनुसार एक नम्बरमा थापा, दुईमा गिरी र तीन नम्बरमा तामाङ हुनुहुन्छ । मन्त्रिपरिषद्ले जेष्ठताका आधारमा नियुक्ति गरेमा उहाँहरु तीन जनामध्ये प्रहरी अतिरिक्त दीपक थापा प्रहरी प्रमुख हुने सम्भावना बलियो देखिन्छ ।