काठमाडौँ, चैत्त ३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित “रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष” पुस्तक हस्तान्तरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटघाट कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतोसहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा रासस फोटो किताबको विषयमा कार्यकारी अध्यक्ष झाले उहाँलाई जानकारी गराउनुभएको थियो । पुस्तकको संक्षिप्त अध्ययनपछि उपराष्ट्रपति यादवले रासस फोटो किताबमा छापिएका तस्वीरले नेपालको कला संस्कृति, धार्मीकस्थललाई चिनाउन र अध्ययनमा सहयोग पुग्ने बताउनुभयो । गणतन्त्र स्थापनापछि नेपालमा भएका विकास निर्माणका कामले देशमा परिवर्तन भइरहेको छ भन्ने अनुभूति दिने गरी तस्वीर समावेश गरिएकाले रासस फोटो किताबको महत्व धेरै रहेको उपराष्ट्रपति यादवले बताउनुभयो ।
फोटो किताब प्रकाशन गरेर राज्य र सरकारलाई सहयोग, देश जोड्ने र निरासा तोड्ने कार्यमा सहयोग गरेकामा उपराष्ट्रपति यादवले राससको उक्त कार्यको प्रशंसा गर्नुभयो ।