फाइल तस्वीर
काठमाडौँ चैत ३ गते । भोलि सोमबारदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको लागि तिब्र प्रतिस्पर्धा देखिएको छ । बहालवाला प्रहरी महानिरीक्ष वसन्तबहादुर कुँवरको पदावधि भोलि सोमबारदेखि सकिने भएकोले प्रहरीको नयाँ महानिरीक्षका लागि तीन जनाबीच तिब्र प्रतिस्पर्धा चलेको हो ।
प्रहरीको नेतृत्वका लागि यतिबेला प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङबीच आईजीपीका लागि प्रतिस्पर्धा चलेको छ । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ हुनुहुन्छ । मन्त्रिपरिषद्ले जेष्ठताको आधारमा नियुक्ति गरेमा उहाँहरु तीन जनामध्ये प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको पल्लाभारी देखिएको छ ।
नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकको नियुक्तिका लागि भोलि बस्ने मन्त्रिपरिषदको बैठक निर्णय गर्ने छ । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुनुहुन्छ भने गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ ।
भोलि सोमबारदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरूले ३० वर्षे कार्यकाल पूरा गरी अवकाश पाउँदै हुनुहुन्छ । करिब दुई वर्ष जनपथ प्रहरीको नेतृत्व सम्हाल्दै आउनुभएका प्रहरी महानिरीक्षक कुँवर २०७९ चैत १० मा आईजीपी नियुक्त हुनुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी भोलिदेखि सेवा निवृत्त हुन लाग्नुभएको हो । कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ, र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै हुनुहुन्छ ।
यसैगरी डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलि चैत ४ गते नै सेवानिवृत्त हुने अधिकृत हुनुहुन्छ । मध्यराति १२ बजेबाट अवकाश हुन लाग्नुभएको हो । अवकाशमा जान लाग्नुभएका डीआईजी द्वय गणेश चन्द सुदूरपश्चिम प्रदेश र भोला रावल गण्डकी प्रदेशको प्रहरी प्रमुख हुनुहुन्छ ।