फाइल तस्वीर
काठमाडौँ, चैत ३ गते । काठमाडौँको डिल्लीबजारस्थित कारागारमा रहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको रिट आज आइतबार पेसीमा चढेको छ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कारागारको जीवन विताइ रहनुभएको पूर्व महानिर्देशक शर्माले पक्राउ परेपछि दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा सुनुवाइ हुन लागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालीन महानिर्देशक शर्माविरुद्ध २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि विशेष अदालतले शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ वर्ष कैदसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।
विशेष अदालतको सो फैसलाविरुद्ध शर्माले गत साउनमा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुग्नुभएको थियो । माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जमार्फत पुस्तकहरू विक्री गरी आव २०५८÷०५९ देखि नै आय आर्जन गरेको भनी आय विवरणमा देखाउनुभएको थियो । त्यसअघि गत फागुन १९ मा सर्वोच्चले शर्माको मुद्दामा नेपालगञ्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टर र पर्वत पुस्तक पसल सप्लायर्सबाट प्रमाण मगाउन आदेश दिएको थियो ।
तर उक्त पसल २०६२ साउन ४ देखि मात्र दर्ता भई कारोबार गर्न सुरु भएको दाबी अख्तियारले गरेकाले उक्त मितिभन्दा पहिलेदेखि कारोबार गरेको देखिने कर बुझाएको प्रमाण वा अन्य कुनै लिखत प्रमाण भए माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जबाट मगाउन आदेश भएको हो ।