फाइल तस्वीर
काठमाडौँ, चैत ३ गते ।
सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । निगमले आज आइतबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको छ । आजदेखि लागूभएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार÷चार रुपैयाँको दरले मूल्य घटेको छ ।

निगमले निर्धारण गरेको नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल १६३ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेल १५१ रुपैयाँ प्रतिलिटर तिर्नुपर्ने भएको छ ।


नेपाल आयल निगमलाई तेल उपलब्ध गराउँदै आएको भारतीय आयल कर्पोरेशन(आईओसी)ले हिजो शनिबार पठाएको पेट्रोलियम पदार्थको मूल्य घटाएर आएपछि नेपालमा पनि मूल्य घटाइएको हो ।

निगमका अनुसार हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले प्रत्येक महिनाको १ र १५ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्दछ ।