तानसेन, चैत २ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा मन्त्री सिंहले गठबन्धन सरकार निर्माण तत्कालीन परिस्थितिको उपज भएको दावी गर्नुभयो ।
आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उपप्रधानमन्त्री सिंहले त्यो परिस्थितिको उपज भएको उल्लेख गर्नुभयो ।
देश सङ्कटोन्मुख हुँदा सधँै नेपाली काङ्ग्रेसले अग्रपङ्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उहाँले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भन्नुभयो । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताउनुभयो ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्दै राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उहाँको जोड थियो ।