माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
काठमाडौँ, चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलसँग आज आफ्नै भएको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।
“अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ”,
शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको उहाँ निजी सचिवालयले जनाएको छ । साथ उहाँले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।