फाइल तस्वीरः समाजवादी मोर्चाका शीर्ष नेताहरु ।
काठमाडौँ, चैत २ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ । हिजो शुक्रवार बसेको मोर्चाको बैठकले आज शनिबारका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयअनुसार अन्तरक्रिया गर्न लागेको हो ।
बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हिजै जानकारी गराउनुभएको थियो । प्रवक्ता विश्वकर्माले देशको परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको, पुनरुत्थानवादी तथा राजावादीहरु सलबलाउन थालेकोले यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारीमा मोर्चा रहेको बताउनुभयो ।
नेकपाका नेता रहेत रहेका मोर्चाका प्रवक्ता विश्वकर्माले संसदवादी दलहरू र संसदीय राजनीतिभन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको खुलासा गर्नुभयो । मोर्चाले आज गर्न लागेको बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रम देशको वर्तमान राजनीतिक घटनाक्रम र चैत १५ गते हुने विरोधसभाका विषयमा केन्द्रीत हुने बताइएको छ ।