फाइल तस्वीर
काठमाडौँ, चैत १ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टीसहितका चार दलीय समाजवादी मोर्चाको बैठकले तीन वटा विषयमा राजावादीबाट खतरा रहेकाले निष्कर्ष निकालेको छ । आज शुक्रबार बिहान नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले राजावादीबाट गम्भीर खतरा रहेको परिस्थितिको आङ्कलन गर्दै सडक सङ्घर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।


मोर्चाका प्रवक्ता एवम नेकपाका नेता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने प्रयत्न गरेकोले राजधानीमा चैत १५ गते वृहत् विरोधसभा गर्ने बताउनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका प्रवक्ता विश्वकर्माले ‘‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ । न्याँकेर फालेका प्रतिगामी शक्ति टाउको उठाउन खोजेका छन्’’— भन्नुभयो ।

सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेको भन्दै मोर्चा प्रवक्ता विश्वकर्माले ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसङ्घर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ’ भन्नुभयो ।

नेता विश्वकर्माले यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको भन्दै प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्न चैत १५ गते शुक्रबार काठमाडौँमा वृहत् विरोधसभा गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

मोर्चाले आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि शनिबार बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रमसमेत राखेको छ ।

राजावादी दल र वर्तमान सरकारसँग रुष्ट नागरिकहरुले फागुन २५ गते आइतबार राजधानीमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्दै ठूलो र्याली निकालेका थिए ।