फाइल तस्वीर
काठमाडौँ, फागुन २९ गते ।
विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक भोलि शुक्रबार दिउँसो ३ बजे आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयमा बस्ने भएको हो ।

मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार चैत १५ गते काठमाडौँमा हुने भनिएको विरोध सभाको तयारीका बारेमा छलफल गरिने बताइएको छ । मोर्चाले यसअघि आगामी चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित गरिएको नेता श्रेष्ठले जानकारी गराउनुभयो ।

नेसपाका नेता श्रेष्ठले चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको गर्ने भएकाले जनकपुरमा चैत ९ गते गर्ने भनिएको विरोध सभा स्थगित गरिएको बताउनुभयो ।

नेसपाका नेता श्रेष्ठले पर्सी चैत २ गते शनिबार बिहान बौद्धिक वर्गसँग अन्तक्र्रिया गर्ने र सोही दिन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी गराउनुभयो । मोर्चाको फागुन २७ गते मङ्गलबार बसेको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने कार्यक्रम तय गरेको थियो ।

गणतन्त्रवादी राजनीतिक दलहरुले राजावादीहरु सलबलाउन थालेको निष्कर्ष निकाल्दै परिवर्तनकारी सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।

त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘गणतन्त्र’को उपलब्धी आफ्नो नेतृत्वमा प्राप्त भएको र अब त्यसको रक्षा गर्ने जिम्मेवारी पनि आफ्नो भएकोले गणतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालका नेता तथा कार्यकर्ताका साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईंहरुले २५ गते आइतबार पूर्वराजा ज्ञानेन्द्रलाई राजा घोषणा गर्ने भन्दै त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट ठूलो र्यालीसहित महाराजगञ्जस्थित निर्मल निवाससम्म लगेका थिए ।