तस्वीरमा मृगेन्द्रकुमारसिंह यादव ।
काठमाडौँ, फागुन २८ गते । राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । तर पछिल्लो समय प्रतिनिधिसभाका एक सांसदले राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भनेर होच्याएको पनि पाइयो । तर त्यसो होइन । कानुन निर्माण गर्ने सवालमा प्रतिनिधिसभाको तुलनामा बढी छलफल हुन्छ राष्ट्रियसभामा । सरकारले ल्याएका सबै विधेयकमा राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा विस्तृत रूपमा छलफल हुन्छ । समितिमा सरोकारवाला विज्ञलाई बोलाएर छलफल गरिन्छ । म प्रतिनिधिसभामा पनि सांसद थिएँ । तर त्यहाँ राष्ट्रियसभामा जति छलफल हुँदैन ।
जनता समाजवादी पार्टी नेपालले पहिलेदेखि नै अहिलेको संविधानमा सुधार गर्नुपर्छ भन्दै आएको हो । अहिले पनि भन्छौँ, संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधानमा धेरै कुरा छुटेका कारण कतिपय विषय कार्यान्वयन हुनसकेको छैन । जस्तो, सङ्घीयताको सही कार्यान्वयन हुनसकेको छैन । सङ्घीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन पनि बन्न सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिएको छैन । प्रहरीबिना, कर्मचारीबिना प्रदेश सरकार चलिरहेको छ । यदि सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउने हो भने सङ्घीय सरकारले जतिसक्दो चाँडो सङ्घीयतासम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । शिक्षा ऐन पनि आउन सकेको छैन । संविधान संशोधनकै लागि हामीले वर्तमान सरकारलाई अहिलेसम्म समर्थन गरिरहेका छौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भनेर यो सरकारलाई समर्थन दिएको हो ।
सरकारले मधेसी समुदायको मात्र होइन, महिला, आदिवासी जनजाति, दलितलगायत समग्र सीमान्तकृत समुदायको निम्ति काम गर्नुपर्छ । सरकारले कसैलाई पनि भेदभाव गर्नु हुँदैन । सरकारको नजरमा सबै जनता बराबर हुन् । सरकारले सीमान्तकृत समुदायसँग सम्बन्धित कानुन बनाएर लागू गर्नुपर्छ । कानुनमा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । सरकार सबैको हो । सुशासनको निम्ति पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ । प्रधानमन्त्री वा मन्त्रिपरिषद्का सदस्यले भ्रष्टाचार गरेका छन् भने पनि कारबाही हुनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने सरकारमा रहेका मन्त्री र राजनीतिक दलका नेताबाट छानबिन सुरु गर्नुपर्छ । त्यसपछि निजामती कर्मचारीमा पनि छानबिन गर्नुपर्छ । यहाँ त भ्रष्टाचारीलाई ढाकछोप गर्ने चलन छ । आर्थिक हिनामिना गरेको छ, भ्रष्टाचार गरेको छभने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ ।
यो देशको मुख्य समस्या भनेकै स्थिर सरकार नहुनु हो । एउटाले बल्लतल्ल सरकार बनाएको हुन्छ, अर्कोले ढाल्ने खेल सुरु भैहाल्छ । नौ–नौ महिनामा सरकार परिवर्तन भएर कहाँबाट विकास हुन्छ ? मन्त्रीहरूले राम्रोसँग बुझ्न नपाउँदै सरकार ढलिसक्छ । जोपनि प्रतिपक्षमा हुँदा ठूला– ठूला कुरा गर्ने सरकारमा गएपछि केही पनि नगर्ने परिपाटी छ । जनताको अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ कुनै राजनीतिक पार्टीको ध्यान छैन । देश विकासका बारेमा कसैले सोचेकै छैन । भाषण ठुल्ठूला गर्ने, काम भनेको सत्तामा जाने मात्रै गर्ने । खासगरी, देशका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताकेन्द्रित राजनीति मात्र नगरी मुलुकका मुख्य समस्यालाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने खाँचो छ ।
विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि शोषित, पीडित, उपेक्षित समुदाय सङ्गठित हुनु जरुरी छ । देशमा सङ्घीय शासन व्यवस्था त्यसै आएको होइन, कठोर सङ्घर्षबाट आएको हो । परिवर्तनबाट थोरै भए पनि अधिकार प्राप्त गरेका जनताले महसुस गर्न पनि पाएका छैनन् । शोषित, पीडित, उपेक्षित जनतालाई यो व्यवस्थामा कमबेसी राहत मिलेको छ । यसलाई पनि उल्ट्याउन विभिन्न शक्तिहरू सक्रिय भएको देखिन्छ ।
देशबाट युवा पलायन रोक्न सरकारले रोजगारी सृजना गर्नुपर्छ । हाम्रो देश कृषिप्रधान हो । यहाँ झण्डै ६५ प्रतिशत जनता कृषि पेसामा छन् । तर कृषकले समयमा मल पाइरहेका छैनन्, सिँचाइको भरपर्दो सुविधा पनि छैन । कृषिलाई आधुनिकीकरण गरेर वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । त्यसो गरेको खण्डमा आयात प्रतिस्थापन गर्न सक्छौँ । अहिले अर्बौँको कृषिउपज आयात भइरहेको छ । देशभित्रै आम्दानीका स्रोत उपलब्ध भए ४०–५० डिग्री तापक्रममा काम गर्न कुन युवा विदेश जान्छ र ? त्यसैले सरकारले कृषिमा लगानी बढाउँदै लैजानुपर्छ । हामी सांसदको काम कानुन बनाउने हो । जनताका विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने हो । अब म राष्ट्रियसभामा जतिन्जेल बस्छु, जनताको पक्षमा कानुन निर्माणका लागि भूमिका निर्वाह गर्नेछु । जनताका सवाललाई सरकारसमक्ष पुर्याउन पहल गर्नेछु ।
(राष्ट्रियसभा सदस्य श्री मृगेन्द्रकुमारसिंह यादवसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)