काठमाडौँ, फागुन २७ गते । सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट गायन ‘रियालिटी शो मेरो भ्वाइस युनिभसर्’ र ‘नृत्य रियालिटी शो मेरो डान्स युनिभर्स’ को सिजन–२ प्रसारण हुने भएको छ । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सूत्रमा बाध्ने लक्ष्यका साथ कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ ।

दुवै रियालिटी ‘शो’ मा प्रथम हुने विजेतालाई रू एकरएक करोड, दोस्रो हुनेलाई रू २५र२५ लाख र तेस्रो हुनेलाई रू १०र१० लाख पुरस्कार प्रदान गरिने पनि जानकारी दिइएको छ ।

ती ‘शो’ हरू प्रत्येक शुक्रबार, शनिबार, आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छन् । टेलिभिजनको सहकार्यमा दुवै युनिभर्सको निर्माण तथा प्रसारणका लागि आज नेपाल टेलिभिजन र इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

टेलिभिजनका तर्फबाट व्यापार महाशाखाका निर्देशक राजकुमार थापा र फाउन्डेसनका तर्फबाट नेपाल च्याप्टर प्रमुख बाबुकृष्ण कार्की त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले उक्त कार्यक्रमका माध्यमबाट सार्वजनिक सेवा प्रसारणलाई विश्वमा रहेका नेपालीबीच पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य फुलमान बल र इन्ट्रा फाउन्डेसनका कार्यकारी चुडामणि भट्टराईले यस्ता प्रदर्शन र रियालिटी शोहरूले संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।