विराटनगर, फागुन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पार्नुभयो । व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत भएको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भत्रुभयो ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
“प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।” उहाँले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
“म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्चता कायम हुन्छ ।”
सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्र गतिमा काम गरिरहेको बताउनुभयो ।