काठमाडौँ, फागुन २७ गते । प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताउनुभयो । सांसद चित्रबहादुर केसीले २०४६ सालपछि राजनीति गर्ने र सत्तामा बस्नेको सम्पत्ति छानबिन हुनुपर्ने र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्ने बताउनुभयो ।
सांसद प्रभु साहले विदेशी एप्सले नेपालबाट खर्बौं रूपैयाँ लगिरहेको भन्दै नेपली एप्स विकास गर्नलाई सरकारलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले सामाजिक सञ्जालको नियन्त्रणभन्दा नियमनमा बढी जोड दिनुपर्ने बताउनुभयो ।
सांसद डा अमरेशकुमार सिंहले देशमा हाल लोकतन्त्रभन्दा पनि नेतातन्त्र हावी रहेको बताउनुभयो । उहाँले नेतातन्त्रको संरक्षणमा भ्रष्टाचारी र विचौलिया रहेको भन्दै जनताको पक्षमा काम गरिनुपर्ने बताउनुभयो ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले अहिलेको अवस्था आउनुमा अघिल्ला सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै पूर्वराजाको पक्षमा भइरहेको प्रदर्शन संविधान विरोधी रहेको र राजतन्त्र असन्तुष्ट पक्षले हुइँया मच्चाउँदैमा नफर्किने धारणा राख्नुभयो ।
सांसद छिरिङ ल्हामु लामा ९तामाङ० ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताले निर्माण गरेको संविधानअनुसार नयाँ पार्टी खोलेर निर्वाचन प्रणालीमा आउन चुनौती दिनुभयो । उहाँले राजतन्त्र फर्कन अब असम्भव रहेको स्पष्ट पार्दै निर्वाचन प्रणालीमा आउन चुनौती दिनुभएको हो ।
सांसद सुमना श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । “विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न सरकारलाई सुहाउँछ ? विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण बनाउनुपर्छ ।” उहाँले भन्नुभयो, “सरकारी शिक्षालय तोडफोड गर्ने विद्यार्थीलाई किन कारबाही हुँदैन ?”
सांसद भगवती चौधरीले महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयने । उहाँले भन्नुभयो, “जनताले के पाएका र जनताले के पाउन बाँकी छ ? छलफल गरौ न”, उहाँले भन्नुभयो, “सरकारलाई मात्रै गाली गरेर हुँदैन । मिलेर अगाडि बढ्नुपर्छ ।”