भोजपुर, फागुन २७ गते । पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।
ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालन ल्याएको हो । विद्यालयमा रु आठ लाखबराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिनुभयो ।
ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय, समय र विद्यालयभन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो । “हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “सेन्टर स्थापनाले विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ ।
सेन्टर स्थापना कार्यक्रम पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताउनुभयो । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवनोपयोगी शिक्षणमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिहेको अध्यक्ष राईले भन्नुभयो । अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकासँगै विभिन्न निकायसँगको सहकार्यमा भौतिक निर्माणसँगै आधुनिक शिक्षा प्रणालीमा लगानी गरिरहेका छौँ । शिक्षाले नै समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले हामीले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेका छौँ, गाउँपालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयमा व्यवस्थित पस्ताकालयसँगै प्रविधिमैत्री बनाउन ध्यान दिएकोे अध्यक्ष राईले बताउनुभयो ।
पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतिलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बताउनुभयो । डिजिटल प्रविधिको शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
“आजको युग विज्ञान र प्रविधिको युग हो, हामीले पनि शिक्षालाई समयसापेक्ष अघि बढाउन आवश्यक छ । दूरदराजका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ”, पूर्व अर्थमन्त्री कोईरालाले भन्नुभयो । ईश्वर मन्दिर काठमाडौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।