काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उक्त विधेयकमाथि आज सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै उद्योगमन्त्री भण्डारीले नेपाली वस्तुलाई ‘ब्राण्डिङ’ गर्न र विश्वबजारसम्म पु¥याउनका लागि नयाँ कानूनी व्यवस्था आवश्यक पर्ने भएकाले यो विधेयक संसदमा ल्याइएको बताउनुभयो । संसदमा आएका सुझावलाई सम्बोधन गर्दै थप व्यवस्थित, परिस्कृत र समृद्ध बनाएर लगिने उद्योगमन्त्री भण्डारीको भनाइ छ ।
वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो विधेयक ल्याइएको हो । यो कानून बनिसकेपछि निकासी पैठारी कार्यमा एकरुपता कायम हुने, विभिन्न निकायहरुको अधिकार स्पष्ट हुने, प्रक्रियाहरु थप व्यवस्थित र प्रभावकारी हुने र समग्र राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यहि फागुन २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।