काठमाडौँ, फागुन २२ गते । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बस्ने राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिनुहुने कार्यसूची छ ।
यसैगरी, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, आजको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
